बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

प्राविधिक समस्या नआए एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी

प्राविधिक समस्या नआए एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी

मेगा खबर संवाददाता

२१, आषाढ २०८०
  • 1000
    SHARES

  • प्राविधिक समस्या नआए एसइईको नतिजा आजै सार्वजनिक गर्ने तयारी

    काठमाडौं, असार २१ गते राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

    बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।  परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने,सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए । 
        
    उनले भने,‘एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आएमात्रै भोलि पुग्ने हो अन्यथा नतिजा आजै सार्वजनिक हुन्छ, त्यसकै तयारीमा हामी जुटेका छौं । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धति अनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरिसकेको छ ।

    विसं २०७२ को प्रणाली अनुसार  सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था छ । विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी तथा २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिन्छ । 

    नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ। यो व्यवस्था आगामी वर्षदेखि लागु हुने भएको छ ।

    गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले परीक्षा दिएका छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थी एसइईमा सहभागी थिए ।

    यसरी हेर्न सकिन्छ नतिजा:  

    एसइईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौंतारिने गर्छन् ।

    राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए । 

    एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ। नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ । 

    त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np,  नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com  बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ      । 

     

    बिहिवार, आषाढ २१ २०८०१२:५५:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार