काठमाडौँ,असार १० गते, राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ ।
कार्यालयका अनुसार विद्यार्थीको प्राप्ताङ्क इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अङ्क पुनर्जाँचको काम भइरहेको छ । यस पटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ । सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो ।
निर्देशिका अनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ । गतवर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणाली अनुसार नतिजा निकालेको थियो । यो वर्ष भने के गर्ने भन्नेबारे बोर्डमा छलफल चलिरहेको जनाइएको छ ।
२०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।