काठमाडौँ, जेठ ९ घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकी सहित स्वागत गरेका छन् ।
भूतपूर्व गोर्खा सैनिक रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका छन् । स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाएका भन्दै हार्दिक बधाइ दिए ।
“हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिएका छन्”, मन्त्री किरातीले भने, “उनले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिएका छन् ।” सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिए । “आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरु मलाई स्वागत गर्न आएका छ ।
यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उनले भने, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पु¥याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।” उनले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।