काठमाडौं, जेठ २ गते राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादा विपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएको र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ ।
काठमाडौंको मित्रपार्कस्थित टेक्सास ई मावि परीक्षा केन्द्रमा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको र मित्रपार्ककै कैलाशकुट बहुमुखी क्याम्पस तथा बौद्धस्थित कुमारी आवासीय माविका केन्द्राध्यक्षलाई परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको जनाइएको छ ।
कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । मोबाइलमार्फत प्रश्नपत्र खिचेर बाहिर पठाउने र त्यहीबाट उत्तर लेखेर पठाउने गरिएको भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् ।
सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेज सिर्जना गरी गलत तथा भ्रमपूर्ण सूचना प्रवाह भइरहेको बोर्डले जनाएको छ । यस्तो भ्रम फैलाउने कार्य नगर्नसमेत सबैलाई बोर्डले उक्त सूचनामार्फत सचेत गराएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।