काठमाडौँ, वैशाख ३१
पाकिस्तानी महिला आरोही नैला कैनीले सगरमाथाको सफल आरोहण गरेकी छन् । आइतबार बिहान ८ः०२ बजे कैनीले सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।
उनीसँगै नैपाली आरोही पासाङतेम्बा पनि आजै सगरमाथाको चुचुरोमा पुगेका छन् । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रि पर्वतारोहीबाट सुरूआत भएको बताए ।
उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथकोल र आसपासमा छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।
रोप फिक्सिङपछि पहिलो औपचारिक आरोहण सुरु भएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमेजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ संख्यामा आरोही प्रतिक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।