बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती नदी किनारमा फोहोर फाल्नेलाई जरिवाना

बागमती नदी किनारमा फोहोर फाल्नेलाई जरिवाना

मेगा खबर संवाददाता

३०, बैशाख २०८०
  • 829
    SHARES

  • बागमती नदी किनारमा फोहोर फाल्नेलाई जरिवाना

    काठमाडौँ, ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ सुरु वाग्मती सफाइ महाअभियानका क्रममा नदी किनारमा फोहोर फाल्नेलाई स्थलगतरुपमै जरिवाना गरिएको छ ।

    बागमती सफाइ महाअभियानले प्रत्येक शनिबार बिहान आयोजना गर्ने जागरणमूलक सफाइका क्रममा सिनामङ्गल पुलमुनिको नदी किनारमा फोहोर फाल्ने लक्ष्मीनारायण शर्मा र हिमालयन विल्डर्सलाई रु १० रु १० हजार गरी रु २० हजार जरिवाना गरिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले सफाइस्थलमै रसिद काटेर दोषीलाई कारबाही गर्ने अभियान नै चलाउने भएको छ । 
          
    महाअभियानले प्रत्येक हप्ता जरिवाना लिने रसिदसहित नगर प्रहरी र कर्मचारी पठाइ सहयोग गरिदिन महानगर प्रमुख शाहसँग अनुरोध गरेका थिए । सफाइ महाअभियानले काठमाडौँ उपत्यकाका दुवै महानगरपालिका र सबै नगरपालिकालाई दिगो फोहोर व्यवस्थापनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ ।
       
    विसं २०७० जेठ ५ देखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार बिहान दुईघण्टा सञ्चालन हुने गरेको छ । आज सफाइ महाअभियानका ५२२ औं हप्तामा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । सफाइबाट तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । अर्को शनिबार बिहान पनि यसै स्थानमा सफाइ गरिने जनाइएको छ ।

    विष्णुमती सफाइ अभियानको ४७० औँ हप्तामा मानसिंह धर्म माध्यमिक विद्यालय परिसरमा सफाइ गरिएको छ । सफाइबाट एक ट्र्याक्टर नकुहिने फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले दिए । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकाका सबै नदी, सांस्कृतिक सम्पदालगायत सार्वजनिकस्थलमा सफाइ अभियान सुरु भएको छ । रुद्रमती नदीमा पनि सफाइ गर्ने गरिए पनि सेतोपुल क्षेत्रमा सिधै नदीमा ढल हालेर प्रदूषित बनाइएको अभियानकर्मी राम साहले जानकारी दिए ।

    आज गुह्येश्वरीमाथिको वाग्मती, मनोहरा, रुद्रमती, मनोहरा, ललितलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि सफाइ गरिएको जनाइएको छ । जताततै सफाइ अभियान जारी रहे पनि ठोस उपलब्धि नभएको भन्दै आलोचना हुने गरेको छ । 

    शनिवार, बैशाख ३० २०८००५:५०:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार