काठमाडौँ, वैशाख ४
हिमाल सफाइ अभियानमा जुटेको नेपाली सेनाको एक टोली अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न सफल भएको छ । सह–सेनानी सुमन पाण्डेको नेतृत्वमा रहेको सेनाको टोलीले आज बिहान ८: ५५ मिनेटमा आठ हजार ९१ मिटरको विश्वको दशौँ अग्लो हिमालको चुचुरोमा पुग्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
टोलीमा प्यूठ् मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, मुख्य पथप्रदर्शक छिरिङ जङ्बु शेर्पासहित पाँच शेर्पा सहयोगी हुनुहुन्छ । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यअनुरूप नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको अगुवाइमा वार्षिकरुपमा हिमाल सफाइ अभियान सञ्चालन भइरहेको छ । यस वर्ष सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ भइरहेको छ ।
सगरमाथा र ल्होत्से हिमालका लागि प्रमुख सेनानी किशोर अधिकारी नेतृत्वको १३ जनाको टोली दोस्रो आधार शिविरमा पुगेको छ । बरुञ्चे हिमाल सफाइ टोली उक्त हिमालको आधार शिविर पुग्ने क्रममा छ । ती टोली हिमाल सफाइ कार्यलाई थप प्रभावकारी बनाउन आफूलाई हिमाली वातावरण अनुकूल तुल्याउन विभिन्न क्रियाकलापमा जुटेका छन् । यस वर्ष सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट करिब ३५ टन फोहर सङ्कलन गर्ने लक्ष्य छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।