बर्दिया राजापुर नगरपालिका-९ की शैलाजा थारू बागलुङको धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन् । सोही विद्यालयको कक्षा ३ मा बाजुरा जगन्नाथ गाउँपालिका-१ का भविन्द्र विष्ट पनि पढ्छन् । थारू र विष्टमात्रै होइन बागलुङ रामरेखाको यस विद्यालयमा ५२ जिल्लाका दुई सय ९५ विद्यार्थी अध्ययरत रहेको प्रधानाध्यापक रेशमबहादुर श्रीसले जानकारी दिए ।
विद्यालयमा अधिकांश सुस्तश्रवण भएका विद्यार्थी अध्ययन गरिरहेका छन्। कूल विद्यार्थीमध्ये ९० प्रतिशत बहिरा रहेको प्रधानाध्यापक श्रीसको भनाइ छ । बहिरा विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयमा स्थानीय सरकारले समेत चासो दिन आवश्यक रहेको उनको भनाइ छ ।
‘दरबन्दी अनुसारका शिक्षक छैनन्, शिक्षण विधि फरक हुने भएकाले जनशक्तिको अभाव छ’, उनले भने, ‘हामीलाई १८ जना शिक्षक आवश्यक भए पनि अहिले जम्मा सात जना मात्रै छौं । विद्यालयले आन्तरिक स्रोतबाट शिक्षक, नर्स, कर्मचारी, ड्राइभर र सुरक्षागार्डको व्यवस्थापन मिलाएको छ। अपांगता भएका विद्यार्थीलाई अध्यापन गराउन सरकारले पनि विशेष प्राथमिकता दिनुपर्ने उनले जोड दिए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरकारबाट प्राप्त हुने आवासीय सुविधाका लागि दिइने मासिक रकम पनि पर्याप्त नभएको बताए । चामल प्रतिबोरा एक हजार तीन सय रुपैयाँ हुँदा मासिक चार हजार रुपैयाँ दिन सुरू भएको हो’, उनले भने, ‘अहिले प्रतिबोरा रु दुई हजार पुगिसक्यो तर रकम बढ्न सकेको छैन ।
प्रधानाध्यापक श्रीसका अनुसार हाल कक्षा ९ र १० मा कम्प्युटर इञ्जिनियरिङ समेत पढाइ हुन थालेको छ । प्राविधिक धारतर्फ तीन वर्षे डिप्लोमा कप्युटर इञ्जिनियरिङको पढाइसमेत भइरहेको उनको भनाइ छ ।
विद्यालयले आठ वर्षदेखि आन्तरिक स्रोतबाटै विद्यालय नर्स कार्यक्रम लागू गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी केबी राना मगरले बताए । रानाका अनुसार विद्यालयमा डोल्पा, कैलाली, अर्घाखाँची, कञ्चनपुर, बाँके, नुवाकोट र झापालगायत विभिन्न जिल्लाबाट बहिरा विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।
रानाले विद्यालयले २०६४ सालदेखि अपाङ्गता भएका, अभिभावक तथा समाजबाट अपहेलित भएका विद्यार्थीलाई अध्यापन गराउन सुरू गरेको बताए । विद्यालयले राज्यबाट आउने तलब तथा आवासीय सुविधाबाहेक वार्षिक १९ लाख अतिरिक्त खर्च भइरहेको बताएको छ ।
बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले यस्ता विद्यालय र अन्य सामुदायिक विद्यालयलाई हेर्ने नीति परिवर्तन आवश्यक रहेको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।