काठमाडाैँ, चैत्र ५
नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिइन् । उनका अनुसार एसइईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३,६ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भएको छ ।
एसइईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३ ।६ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने निर्णय भए अनुसार कार्यविधि बनाएर कार्यान्वयन गर्न लागिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले बताए ।
उनका अनुसार यो व्यवस्था चालु शैक्षिकसत्रदेखि सुरु गर्न लागिएको हुँदा आवश्यक बजेटको सुनिश्चित भइसकेको छ भने कानुनी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ । अहिले विद्यार्थी एसइईको तयारीमा लागिरहेकाले उनीहरुको मनोबल उच्च बनाउन नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो’, शिक्षा शाखा प्रमुख रावतले भने, ‘यसअघिका परीक्षा र हालै भएको कक्षा १० को आन्तरिक परीक्षामा उत्कृष्टको नजिक–नजिकको अङ्क ल्याएकालाई थप लगनशील बनाउन गाउँपालिकाको सो निर्णयले थप ऊर्जा मिल्दछ ।
विभिन्न छ वडा रहेको म्यागङ गाँउपालिकामा माध्यमिक तहसम्म अध्ययन गराउने विद्यालयको सङ्ख्या सात रहेको छ । ती विद्यालयमा चालु शैक्षिक सत्रमा एसइई दिने विद्यार्थीको सङ्ख्या तीनसय हाराहारीमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।