बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान

मेगा खबर संवाददाता

२५, फाल्गुण २०७९
  • 1.1K
    SHARES

  • सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान

    काठमाडौं, फागुन २५

    अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ ।

    नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रूपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान कायम गर्ने फुङ्जु लामासहित सगरमाथा आरोही नायिका निशा अधिकारी, नेत्री विना मगरलगायत हुनुहुन्छ । सम्मानित महिला आरोहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले कदरपत्रद्वारा सम्मान गरेका छन् ।

    सो अवसरमा राज्यमन्त्री ठकुरीले समाजमा महिलाले कुनै क्षेत्रमा साहसिक योगदान गर्न सक्छन् भन्ने दरिलो उदाहरण पेस गरेको उल्लेख गरे । यस किसिमको कार्यक्रमले दिवसको औपचारिकता मनाउने मात्र नभई महिलाहरूको साहसिक क्षमता र प्रतिभाको उजागरमा मद्दत पुग्ने उनको भनाइ थियो ।

    राज्यमन्त्री ठकुरीले समाजको संस्कारसँग लड्न सगरमाथा आरोहणभन्दा कठिन रहेको उल्लेख गर्दै यो कार्यक्रमको माध्यमबाट महिला कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने सन्देश दिएको विश्वास व्यक्त गर्नुभयो । उनले भने, “आज सम्मानित हुने कीर्तिमानी महिलालाई सगरमाथा आरोहण गर्न बरु सजिलो लाग्यो होला तर यो समाजको संस्कारसँग लड्न गाह्रो हुन्छ । किनकि अझै समाजबाट निस्केर अघि बढ्न महिलालाई कठिनाइ छ ।”

    पितृसत्तात्मक सोचबाट महिलाहरू बिस्तारै माथि उठ्दै गए पनि समाजमा अझै पनि महिला अधिकार र पहिचानमा पछि परिरहेको उनले उल्लेख गरे । राज्यमन्त्री ठकुरीले मुलुकको आर्थिक समृद्धिको आधारका रूपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवर्द्धनका लागि नीतिगत सुधार जरुरी रहेको बताउनुभयो । उनले नेपालको पर्वतारोहणमा महिला आरोहीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै कीर्तिमानी महिला आरोहीलाई प्रोत्साहन गर्न मन्त्रालयले छुट्टै युनिट बनाएर पहलकदमी लिने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाले पर्वतारोहण संवेदनशील विषय भएकाले सम्पूर्ण आरोहीको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोषको व्यवस्था हुनुपर्ने बताए । उनले महिला आरोही तथा साहसिक आरोहणको क्षेत्रको आकर्षण र प्रोत्साहनका लागि राज्यले नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

    नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले मुलुकको पर्वतीय पर्यटन विकासमा महिला आरोहीको उल्लेख्य भूमिका रहेको भन्दै उनीहरूको सम्मान र प्रोत्साहनमा राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले नीतिगत व्यवस्था गरेर आरोहणका लागि नखुलेका पिकहरू क्रमशः खुलाएर जानुपर्ने धारणा राखे ।

    ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले पर्वतीय पर्यटनमा महत्त्वपूर्ण योगदान गर्ने महिला आरोहीको प्रोत्साहन र उनीहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्न सम्बन्धित निकायले पहल गर्नुपर्ने बताए ।

    सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पाले सरकारले पर्वतारोहणमा खटाउने सम्पर्क अधिकृतको कोटामा करिब ५० प्रतिशत आरोही सङ्घको प्रतिनिधित्व गराइदिन राज्यमन्त्री मार्फत माग गर्नुभयो । अहिले सम्पर्क अधिकृतका रूपमा सङ्घबाट पाँचजनाको मात्रै प्रतिनिधित्व हुने गरेको उनको भनाइ छ ।

    नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य नवाङ निमा शेर्पाले महिला आरोहीको प्रोत्साहनका लागि नीतिगत व्यवस्था गरिनुपर्ने बताए । 

    बिहिवार, फाल्गुण २५ २०७९०४:२१:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार