बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था आजदेखि बागमती प्रदेशमा लागु, नयाँ प्रणालीमा के व्यवस्था छ ?

ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था आजदेखि बागमती प्रदेशमा लागु, नयाँ प्रणालीमा के व्यवस्था छ ?

मेगा खबर संवाददाता

२, फाल्गुण २०७९
  • 1.2K
    SHARES

  • ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था आजदेखि बागमती प्रदेशमा लागु, नयाँ प्रणालीमा के व्यवस्था छ ?

    काठमाडाैँ, फागुन २ 

    बागमती प्रदेशमा पटकपटक रोकिँदै आएको सवारीचालक अनुमति-पत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने अंकभार प्रणाली २ फागुनबाट लागू हुने भएको छ । 

    १ फागुनबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाले २ गतेबाट लागू गर्ने भएको हो । यसअघि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्व सरकारका श्रम,रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि दबाबकै कारण रोकिएको थियो । पाण्डेको हस्तक्षेपका कारण तीन पटकसम्म रोकिएको ७० अङ्क ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारले कार्यान्वयन गर्न लागेको हो ।

    यातायात व्यवस्था विभागले ०७७ मा ‘सवारी चालक अनुमतिपत्र वितरण कार्यविधि ०७७’ जारी गरेको थियो । जसलाई अङ्कमा आधारित कार्यविधि पनि भनिन्छ । कार्यविधि लागू भएपछि मोटरसाइकल तथा चार पाङ्ग्रे यातायातको ट्रायलमा ७० प्रतिशत अङ्क ल्याए पुग्छ । उकालो र ओरालोमा भने शतप्रतिशत अङ्क ल्याउनुपर्ने कार्यविधिमा उल्लेख छ । अन्य नियममा भने अङ्क थपघट हुने भए पनि पास हुन सकिने नियम छ ।

    ट्रायल पास हुन ७० अङ्क ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अङ्क प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था छ । 

    नयाँ प्रणालीमा के व्यवस्था छ ?

    निर्देशिकामा वर्ग 'क' (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग 'ख' (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ ।

    निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (कट), (एके) र वर्ग 'ख' (बी)का लागि लिइने लिखित परीक्षाका लागि ५००५०० वटा प्रश्नको दुइटा प्रश्न संग्रह विभागले सार्वजनिक गरेको छ । यो व्यवस्था अनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चारचार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन् ।

    लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ । सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ । निर्देशिकामा भएको व्यवस्था अनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् ।

    यसअघि विभागले परीक्षार्थीले आफ्नै सवारी प्रयोग गर्न सक्ने व्यवस्था गरेको थियो ।  यो व्यवस्था कार्यान्वयनमा नआउँदै संशोधन गरिएको छ । अब कार्यालयले तोकेका तथा उपलब्ध गराएका सवारी मात्र प्रयोग गर्न सकिन्छ । ट्रायलका लागि प्रयोग हुने मोटरसाइकल–स्कुटर पेट्रोलबाट चल्ने र कार, जिप, भ्यानहरू पेट्रोल, डिजेल वा ग्यासबाट चल्ने हुनुपर्नेछ । त्यस्तै सबै सवारी दर्ता प्रमाणपत्र अद्यावधिक भएको वा बहाल अवधि बाँकी रहेको तथा तेस्रो पक्ष बीमा भएको हुनुपर्नेछ ।

    प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ । यसको अंकभार यसप्रकार छः

    -घुमाउरो आठ-२० अंक
    -साँघुरो फलेक-१० अंक
    -युटर्न-१० अंक।
    -ट्राफिक संकेत-१५ अंक
    -बम्प्स (उबडखाबड)-१५ अंक
    -उकालो-२० अंक
    -परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन-१० अंक

    यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः

    -घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ ।
    -एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ ।
    -युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ ।
    -ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ ।
    -उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ ।
    -एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ ।
    -सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ । यसो नगरे ३ अंक घट्नेछ ।
    -हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ ।
    -असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ ।

    फेल हुने अवस्थाहरूः

    - एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा
    - एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा
    - ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा
    - सवारीको स्टार्ट बन्द भएमा
    - साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा
    - उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर - ६ इन्चभन्दा पछाडि सरेमा
    - उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ ।
     

    मंगलवार, फाल्गुण २ २०७९०९:३७:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार