काठमाडौं। गत साता नेप्से परिसूचक अघिल्लो साताको अन्तिम दिनको तुलनामा स्थिर देखिएको छ । अघिल्लो साताको अन्तिम दिन १ हजार ४ सय ८ मा रहेको नेप्से परिसूचक गत साता १ हजार ३ सय ९७ बिन्दुमा आइपुगेको हो । साताभरमा नेप्से ११ अंक (०.७९ प्रतिशत)ले घटेको हो ।
केही दिनदेखि नेप्सेले १ हजार ४ सय बिन्दुको प्रतिरोध सामना गरिरहेको छ । अघिल्लो साता सोही बिन्दुमा रहेको नेप्से त्यसयता घटे पनि गत साताको मंगलबार पुनः सोही बिन्दु छोएर ओरालो लागेको छ । गत साताको बिहीबार अन्तरदिनको कारोबारमा समेत १ हजार ४ सय ३ बिन्दुसम्म पुगेर ओर्लिएको छ । सयको बिन्दुलाई मनोवैज्ञानिक तहसमेत मानिन्छ ।
सातागत आधारमा कारोबार रकममा भने १४ दशमलव ८७ प्रतिशतले गिरावट आएको छ । अघिल्लो साता ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा गत साता ४ अर्ब ९४ करोडको सेयर कारोबार भएको हो ।
५ समूहमा सुधार
साताभरमा नेप्से परिसूचक घटे पनि ५ समूहगत परिसूचकमा भने सुधार देखिएको छ । यसरी सुधार हुनेमा निर्जीवन, व्यापारमूलक, ‘अन्य’, वित्त कम्पनी र जीवन बिमा समूह छन् । यी सूमहमा क्रमशः ८२,३६,१८,६ र ३ अंकले वृद्धि भएको हो । वाणिज्य बैंक, विकास बैंक, होटेल, हाइड्रोपावर, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समूह सूचकमा गिरावट आएको हो । निषेधाज्ञा लागू भए पनि बजारमा दैनिक कारोबार रकम अन्तिम दिन पनि ३९ करोड हाराहारी भएकाले आइतबारबाट बजारमा कारोबार बढ्ने अपेक्षा ब्रोकरहरूको रहेको छ ।
लाभांशको मौसम सुरु भएको र ब्याज बजारसमेत घट्दो अवस्थामा रहेको, लगानी क्षेत्र खुम्चिएका कारण बजारमा लगानी बढ्ने अपेक्षा उनीहरूको छ । मुलुकको आर्थिक अवस्था कसरी अगाडि बढ्न सक्छ भन्ने अन्योल कायमै रहेको अवस्थामा लगानीकर्ताले अल्पकालीन लगानी रणनीति बनाएर कारोबार गर्ने सम्भावना रहेको विज्ञहरू बताउँछन् । भावी अवस्थाको आकलनमा भन्दा पनि कम्पनीहरूले हाल दिन सक्ने प्रतिफलका आधारमा उपयुक्त मूल्यमा सेयर किन्ने रणनीतिमा लगानीकर्ता लाग्न सक्ने विज्ञहरू बताउँछन् ।
बजार बुलिस प्रवृत्तिमै
अहिले पनि सेयर बजार बुलिस प्रवृत्तिमा नै रहेको मुभिङ एभरेजले संकेत गर्छ । नेप्से परिसूचकलाई आधार मानेर हेरिएको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखामा केही समयअघि मात्रै क्रसओभर भएको छ ।
७ दिने रेखाले २१ दिने रेखालाई काटेर माथि नै रहेकाले बजारमा बुलिस प्रवृत्ति कायमै रहेको देखिएको हो । यी दुई रेखाबीचको दूरी कायमै रहेको छ । १ हजार ४ सयमा प्रतिरोध सामना गरिरहेको नेप्सेले साथै टेवासमेत परीक्षण गरिरहेको छ । नेप्सेले १ हजार ३ सय ८० देखि १ हजार ३ सय ९० सम्ममा टेवा पाइरहेको छ । नेप्सेको आरएसआई सूचक भने करिब ४० बिन्दु हाराहारीमै छ । यसले बजारमा सेयरको माग र आपूर्ति सन्तुलित अवस्थामा नै रहेको संकेत गर्छ ।
बजारमा यस साता
नेसनल लाइफ इन्स्योरेन्सले ०७५र७६ को नाफापछि १५ प्रतिशत नगद र २ दशमलव ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । एनआइबिएल समृद्धि फन्डको गत आवको नाफापछि प्रस्तावित १२ प्रतिशत नगद लाभांशका लागि ५ भदौमा बुक क्लोज गरिएको छ । ४ भदौसम्म लगानी गर्नेले नगद लाभांश प्राप्त गर्नेछन् ।
सिद्धार्थ इक्विटी फन्डले गत आवको नाफापछि ७ दशमलव ५ प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमले ५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
१ बराबर २ अनुपातमा हकप्रद जारी गर्न लागेको समृद्धि फाइनान्सको ११ भदौसम्म सेयर खरिद गर्नेले हकप्रदमा आवेदन दिने पाउने भएका छन् । कम्पनीको १२ भदौमा बुक क्लोज हुनेछ ।
१ बराबर शून्य दशमलव ८२ अनुपातमा हकप्रद जारी गर्न लागेको नागरिक लगानी कोषको बिक्री प्रबन्धकमा राष्ट्रिय वाणिज्य बैंक नियुक्त भएको छ । ब्रोकरहरूले सेयर कारोबारी लगानीकर्तालाई कनेक्ट आइपिएस, अनलाइन बैंकिङलगायतका विद्युतीय भुक्तानी माध्यमहरू प्रयोग गरेर भुक्तानी गर्न आग्रह गरेको छ । यसअघि धितोपत्र बोर्डले १८ भदौसम्म अनलाइन भुक्तानी प्रणाली अवलम्बन गर्न सबै सरोकारवाला निकायलाई निर्देशन दिएको थियो ।
विद्युतीय माध्यमबाट सेयरमा आवेदन दिने माध्यम मेरो सेयरमा समस्या देखिँदा लगानीकर्ताले जारी भइरहेका सेयरमा आवेदन दिन पाइरहेका छैनन् । एकैपटकमा ५० हजारसम्मले मेरो सेयरबाट आवेदन दिने गरिरहेकाले पनि समस्या भएको सिडिएससीले बताएको छ । तीनवटा कम्पनीको सेयर जारी जुधेकाले पनि समस्या भएको बताइएको छ ।
मेरो सेयरमा समस्या देखिए पनि लिबर्टी इनर्जी, रिलायन्स इन्स्योरेन्स र समाज लघुवित्तको सेयरमा उलेख्य आवेदन परेको छ । ७ भदौ पहिलो बन्द मिति राखिएको लिबर्टीको हालसम्म ९६ प्रतिशत सेयरमा आवेदन परेको छ । रिलायन्स र समाजमा मागभन्दा बढीको आवेदन परिसकेको छ । यी दुवैको पहिलो बन्द मिति ८ भदौ तोकिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।