ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् ।
आगामी हप्ताको मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसमेत पुगिसकेकी छन् ।
कार्यक्रममा डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन् । यसअघि पुरुष डाक्टरले सगरमाथाको सफल आरोहण गरे पनि डा भुसाल महिला डाक्टरको प्रतिनिधित्व गर्दै पहिलोपटक सगरमाथा चढ्न लागेकी हुन् ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ग्राण्डी अस्पतालको प्रतिनिधित्व गर्दै सगरमाथा चढ्न लागेको भन्दै डा भुसाललाई सगरमाथा सफल आरोहणको शुभकामना व्यक्त गरे । डा भुसालले सगरमाथा आरोहण गर्न लागेकामा ग्राण्डी अस्पताल परिवार साह्रै खुशी भएको उनको भनाइ थियो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमृत खन्नाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने कुरा चुनौतीपूर्ण रहेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल राखी सगरमाथा आरोहण गर्न आग्रह गरे ।
महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा भुसाल सगरमाथा आरोहणमा जान लागेकी हुन् ।अर्घाखाँची स्थायी घर भएकी डा भुसाल काठमाडौँको बाँसबारीमा बस्दै आएकी छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।