बुधवार, कार्तिक १९ २०८३Nov 04 2026
चौतारा:लिसंखु पाखर गाउँपालिका स्थित रहेको घिच्चेत उसिदुम माध्यमिक विद्यालयले ५३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। उक्त कार्यक्रम सम्माननीय सभामुख अग्नि प्रसाद सापकोटाले उदघाटन गर्नुभएको थियो ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सभामुख सापकोटाले सिन्धुबासीको शिर झुक्ने कार्य आफूबाट कहिल्यै नहुने प्रतिबद्धता जाहेर गरे ।
आफू कुनै पनि पदमा रहे पनि नरहे पनि नेपाली जनताको हक हित,अधिकार र स्वाधीनताका लागि आफ्नो प्राण छउन्जेल लडिरहने उद्घोष गर्दै सङ्घीय सदनलाई जीवन्त र जनमुखी बनाउँदै गुणस्तरीय कानुन निर्माणमा कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्नु भयो । कानुन बनाउने जिम्मेवारी सभामुखको हो सभामुख सापकोटाले भने कानुन बनाउने मात्र हैन गुणस्तरीय कानुन बनाएर ठिक ढङ्गबाट कार्यान्वयन भयो कि भएन त्यसको अनुगमनको जिम्मेवारी पनि सभामुखको हो ।
शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया कुमारी यादवले बाल विकास शिक्षिकाहरूको अवस्था नाजुक रहेको भन्दै त्यस्ता शिक्षिहरुको हितका लागि नीतिगतरुपमा आफू लागि पर्ने बताइन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले शिक्षा स्वास्थ्यमा विभेद भएको उल्लेख गर्दै ती विभेदको अन्त्य हुनु पर्नेमा जोड दिए । लिसंखुबाट बहिर गएका युवयुवतीलाई लिसंखुभित्र फर्काउनु पर्ने धारणा राख्दै युवा नेता सापकोटाले उत्पादन र रोजगारीको वातावरण सृजना गर्दै लिसंखुबाट बाहिरिएकाहरुलाई फर्काउने जिम्मेवारीमा सरकार र राजनीतिक दल गम्भीर भएर लाग्नु पर्ने धारणा व्यक्त गरे ।
शुभकामना मन्तव्य दिँदै लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले शिक्षा क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहेको र आजीवन लागि रहने प्रतिबद्धता जाहेर गरेका छन्।
विद्यालयका प्रधानाध्यापक चतुर रामे लामाले स्तरीय तथा प्राबिधक शिक्षा प्रदान गर्नु आजकाे अनिवार्य आवश्यकता भएको बत्ताउनुभयो । साथै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
लिसंखुपाखर ३ का वडा अध्यक्ष काजी लामा,माओवादी केन्द्र लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा लगायतका वक्ताहरूले शुभकामना दिएको समारोहमा नवराज घोरा सानी, आस्मान लोप्चन लगायतका कलाकारले साङ्गीतिक प्रस्तुति दिएका थिए ।
सत्य तथ्य समाचार सम्प्रेषण
Copyright © 2026 All right reserved to mega khabar Site By: SobizTrend Technology.