काठमाडौं । संघीय राजधानीमा रहेर शैक्षिक क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल नाम हो, लक्ष्मण घिमिरे । सिन्धुपाल्चोक जिल्लामा जन्मिएर प्रारम्भिक शिक्षा हासिल गरेका घिमिरे लामो समयदेखि राजधानीमै रहेर शैक्षिक क्षेत्रमा लागि परेका छन् ।
साहित्य, संगित, शिक्षा र अध्यापन लगायतका विषयलाई एकसाथ अघि बढाएका घिमिरे आफ्ना पिता तुलसी प्रसाद घिमिरेको प्रभावबाट शैक्षिक क्षेत्रमा जमेका हुन् । आफ्नो छुट्टै पहिचान बनाएका उनीसँग मेगाखबर संवाददाताले समसामयिक सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा लागि पर्नु भएको छ, आफ्नो अनुभवहरु केही वताईदिनुहोस् न ?
प्रारम्भिक शिक्षा सिन्धुपाल्चोकमै पुरा गरी उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौ आई विभिन्न शैक्षिक संस्थाहरुमा उच्च शिक्षा अध्ययनका साथै गित संगितको क्षेत्रमा पनि प्रत्यक्ष रुपमा लागियो । साहित्य, संगित, शिक्षा र अध्यापन सबै कुराहरुलाई एकैसाथ अगाडी लगि हाल शिक्षा क्षेत्रमै आवद्ध भई रहेको छु । मेरो वुवा श्री तुलसी प्रसाद घिमिरे सिन्धुपाल्चोक जिल्लाको शैक्षिक क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गरेको हामी सबैलाई सर्वविदितै भएको कुरा हो । उहाँको त्यही प्रभावबाट म पनि शैक्षिक क्षेत्रमै केही गर्नुपर्छ भन्ने भावना राखी हाल म कोटेश्वर स्थित कस्मिक इन्टरनेशनल एकेडेमीको अध्यक्ष, विविध कन्सल्ट्यान्टस्को कार्यकारी निर्देशक साथै आम संचार विषयको प्राध्यापन कार्यमा निरन्तर लागि रहेको छु ।
यहाँ अध्यक्ष रहनुभएको संस्था कस्मिक इन्टरनेशलको बारेमा जानकारी गराईदिनुहोस् न ?
काठमाडौंको मुख्य क्षेत्र कोटेश्वरमा अवस्थित कस्मिक इन्टरनेशनल एकेडेमी २०६३ सालदेखि निरन्तर रुपमा निजी शैक्षिक क्षेत्रबाट गुणात्मक शिक्षा प्रदान गर्दै राष्ट्र निर्माण अग्रणी भुमिका खेल्दै आईरहेको शैक्षिक संस्था हो । हामीले यस संस्थामा सानासाना वावुनानीहरुको प्ले ग्रुप (प्रि–प्राईमरी) कक्षा देखि कक्षा १२ सम्म औपचारिक रुपमा अध्ययन अध्यापन गर्दै आईरहेका छौं । विद्यार्थीहरुलाई गुणात्मक शिक्षा प्रदान गर्ने ध्येले सवै खालको भौतिक सुविधा, चुस्त आन्तरिक व्यवस्थापन गर्दै विगत केही बर्षदेखि कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयहरुको अध्ययन अध्ययापन कार्य हुदै आई रहेको छ ।
कस्मिक इन्टरनेशनल एकेडेमी अरु शैक्षिक संस्थामा भन्दा के के कुरामा फरक छ ?
सर्वप्रथमः हामी शैक्षिक क्षेत्रमानै पूर्णरुपमा क्रियाशिल साथीहरुको प्रत्यक्ष संलग्नतामा संचालित शैक्षिक संस्था भएको कारणले गर्दा विद्यालय भित्रको शैक्षिक गतिविधिलाई गुणात्मक वनाउन सफल भएका छौ । सो कुरा विगतमा राष्ट्रिय स्तरका विभिन्न परीक्षामा आएको नतिजा, हाम्रा विद्यार्थी भाईवहिनीहरुले अध्ययन प्रश्चात विभिन्न प्रतिष्ठित संस्थाहरुमा आवद्ध भई गरिरहको कामबाट नै पुष्टि हुन्छ । हामी विद्यार्थीहरुलाई अहिलेको परिवेशमा अव्वल राख्न चाहिने आवश्यक व्यवहारीक शिक्षा कसरी प्रदान गर्ने भन्ने वारेमा अहोरात्र लागि परेका छौं । शैक्षिक गतिविधिको अलावा गित, संगित, नृत्य, वाध्यवाधन, खेलकुद, चित्रकला, योगा लगायत अतिरिक्त क्रियाकलापमा हामीले उत्कृट प्रस्तुती दिदै आएका छौं । साथै प्लस टु तर्फ व्यवहारीक शिक्षालाई अतिनै जोड दिदै विभिन्न खालका सेमिनार, प्रोजेक्ट वर्क, विज्ञान प्रदशर्नी, हाजिरिजवाफ इत्यादीका अतिरिक्त शैक्षिक भ्रमण र अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिदै आईरहेका छौं ।
हामीले विज्ञान शिक्षालाई बढी भन्दा बढी व्यवहारिक र प्रभावकारी बनाउनका लागि प्रत्येक विषयको भिन्दाभिन्दै प्रयोगशालाको निर्माणका साथै सामाग्रीहरुले पूर्ण राखी विद्यार्थीहरुलाई बढी भन्दा बढी व्यवहारिक बनाउन लागि परेका छौं ताकि भोलिका दिनमा हाम्रा विद्यार्थीहरु सधै आफुलाई अव्वल, स्वालम्भि वनाउन सकुन् । विद्यालयको आन्तरिक व्यवस्थापन चुस्तदुरुस्त राख्दै विभिन्न नाम चलेका कलेजहरुमा लामो समयसम्म अनुभव प्राप्त शिक्षक शिक्षिकाहरुबाट अध्यापन गर्दै आईरहेका छौं । छोटो समयमै यस संस्थाले लिएको गति देखि विभिन्न जिल्लाबाट उत्कृत नतिजा ल्याउन सफल विद्यार्थिको उच्च शिक्षा अध्ययन गर्ने गन्तव्यको रुपमा परिचित हुँदै आएको छ ।
यहाँ सिन्धुपाल्चोक जिल्लाकै व्यक्ति भएकोले यस जिल्लाबाट धेरै विद्यार्थीहरु अध्ययनको लागि यहाँकै संस्थामा गईरहेको भन्ने सुनिन्छ, कुरा के हो ?
हाल कस्मिक इन्टरनेशनल एकेडेमीमा १६०० भन्दा बढी विद्यार्थीहरुले औपचारिक शिक्षा लिईरहेको अवस्था छ । त्यसमध्ये विद्यालयस्तरमा करिव करिव ३०० र प्लस टु तर्फ १५० जना भन्दा बढी विधार्थीहरु सिन्धुपाल्चोकबाट नै आई अध्ययन गरिरहेको अवस्था छ । हामी विद्यालय संचालक नै सिन्धुपाल्चोक जिल्लाका हुनाका कारण र जिल्लाबाट गुणात्मक शिक्षा ग्रहण गर्ने नजिकको गन्तव्य पनि भएको कारणले र हामीले त्यहाँबाट आउने विद्यार्थीहरुका लागि विशेष प्राथमिकता तथा छात्रवृत्ति समेत उपलब्ध गराईने भएकोले स्वभाविक रुपमा सिन्धुपाल्चोकका विद्यार्थीहरुको पहिलो रोजाईमा कस्मिक इन्टरनेशनल एकेडेमी पर्न गएको हो भन्ने लाग्दछ ।
कोभिड १९ का कारण शैक्षिक संस्थाहरुमा के कस्ता अफ्ठ्याराहरु पर्न गएका छन् ?
कोभिड १९ का कारणले सवैभन्दा वढी असर परेको क्षेत्र नै शैक्षिक क्षेत्र हो । विद्यालयमा स–साना बालवालिकहरु अध्ययनार्थ जाने भएकोले वढी जोखिम पर्नु स्वभाविकै हो त्यसमा पनि विद्यार्थीहरु पढ्ने विद्यालय÷कलेजमा भिडभाड बढी हुने भएकोले शैक्षिक संस्थाहरु अरु संस्थाहरुको तुलनामा बढी संवेदनशिल मानिन्छ । गत बैशाखबाटै नया शैक्षिक सत्र सुरु भएर लगभग पहिलो त्रैमासिक परीक्षा सम्पन्न हुनुपर्ने, प्लस टु तर्फ कक्षा ११ को भर्ना सम्पन्न भई कक्षाहरु सुचारु भईसक्ने समय भएतापनि अझै कहिले विद्यालय÷कलेज खुल्ने भन्ने कुरा अन्यौल नै रहेको छ । अन्य क्षेत्रहरुमा आंशिक रुपमा संचालन भएपनि विद्यालय पूर्णतः वन्दनै हुनाका कारण स्वभाविक रुपमा अफ्ठ्याराहरु श्रृजना हुन गएको छ । तथापी विद्यार्थीको सिक्न पाउने अधिकारबाट वञ्चित नहौन भन्ने उद्देश्यले हामीले नर्सरी देखि कक्षा १२ सम्म निरन्तर रुपमै वैकल्पिक कक्षाहरु सञ्चालन गर्दै आएका छौं । यो क्रम विद्यार्थी भाईवहिनीहरु भौतिक रुपमा विद्यालयमा उपस्थित नहुने समयसम्म नै निरन्तर रुपमा संचालन गर्न विद्यालय प्रशासन लागि रहेका छौं ।
विगत केही वर्ष देखि शैक्षिक परामर्शको क्षेत्रमा पनि लागि पर्नु भएको छ, कोभिड १९ का कारण यस क्षेत्रको अवस्था कस्तो रहेको छ ?
गुणात्मक शैक्षिक भविष्यका लागि विश्वका विभिन्न विकसित मुलुकहरुमा उच्च शिक्षा अध्ययनार्थ जानेक्रम दिनानुदिन बढीरहेको छ । यसै कुरालाई मध्यनजर गर्दै हामीले काठमाण्डौको वानेश्वर स्थित विविध कन्सल्ट्यान्ट्स स्थापना गरेका छौं यसको शाखा अष्टे«लीयाको सिड्नीमा पनि रहेको छ । वजारमा विभिन्न खालका कन्सल्ट्यान्सी सेवा दिने संस्था रहेतापनि हामीहरुले एकदमै व्यवस्थित र व्यवसायीक ढंगबाट परामर्शको काम अगाडी बढाईरहेका छौं । तर फेरीपनि कोभिड १९ का कारणले यस क्षेत्रलाई पनि प्रत्यक्ष रुपमा असर पारिरहेको छ । हाल विश्वभरि नै यसको असर रहिरहेको हुँदा विद्यार्थीहरु वाहिर जाने क्रम कम देखिएतापनि विस्तारै अष्टे«लियाका लागि भने जानेक्रमका लागि आन्तरिक तयारी सुचारु हुने कुरामा विश्वस्त छौं ।
नेपालकै शैक्षिक क्षेत्रमा लागि रहनु भएको व्यक्ति भएकोले के तपाई युवाहरु वैदेशिक अध्ययनका लागि विदेशीनु राम्रो ठान्नुहुन्छ ?
विकसित राष्ट्रहरुमा गुणस्तरीय शिक्षा हासिल गर्न युवाहरु जानु नराम्रो कुरा होइन त्यहाँ सिकेका ज्ञान, सिप र कला स्वदेश मै फर्किएर आफ्नो देशलाई विकसित वनाउन ति युवाहरुले आफ्नो भूमिका निर्वाह गर्नु जरुरी हुन्छ यसका लागि नीति निर्माताहरु तथा समाजका अग्रज मानिसहरुले यो देशलाई ति युवाहरु फर्कन लायक वनाउन जरुरी छ । युवाहरुले आफुले प्राप्त गरेका ज्ञान सीपलाई स्वदेशमै फर्किएर सहि प्रयोगमा ल्याउन सक्ने वातावरण वनेमा आफ्नो घर, परिवार विर्सिएर विदेशमा पलाएन हुदैनन् र हामीले त्यसरी विदेशमा अध्ययन सम्पन्न भएपश्चात् स्वदेशमै फर्किएर सेवा गर्नुपर्छ भन्ने ढंगले सकारात्मक उर्जा दिने भुमिका समेत निर्वाह गरेका छौं ।
शैक्षिक क्षेत्रको विकास र विस्तारमा सरकारको भुमिका के हुनुपर्छ भन्ने लाग्छ ?
नेपालको सन्दर्भमा अझैपनि ठुलो संख्यामा साना वालवालिकाहरु विद्यालयको आधारभुत शिक्षाबाट वञ्चित छन् । सरकारले विभिन्न खालका गतिविधिहरु संचालन गरेतापनि ति साना वालवालिकाहरु अझैं शिक्षाको पहुँचबाट बञ्चित हुनु दुखद कुरा हो । शिक्षामा निजी लगानीका शैक्षिक संस्थाहरु आ–आफ्नो ठाउँबाट उल्लेखनिय भूमिका खेलेतापनि सरकारी निकायबाट ति शैक्षिक संस्थाहरुले खासै सहयोग प्राप्त गर्न सकेका छैनन् । र सरकारले अभिभावकिय भूमिका निर्वाह नगरे जस्तो कता कता भान हुन्छ । एकातिर सरकारी शिक्षामा सरकारको पर्याप्त लगानी अभाव हुनु, लगानी भएतापनि गुणस्तरीय सेवा अभाव रहनु, गुणस्तरीय आधारभूत शिक्षा समेत प्रदान गर्न नसक्नु र अर्कोतिर निजी क्षेत्रको योगदानलाई समेत सही मुल्याङ्कन गर्न नसक्नुका कारण शिक्षा क्षेत्र अझैपनि अस्तव्यस्त नै रहेको देख्दछु । यसका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय तथा शिक्षा क्षेत्रमा लागि परेका व्यक्ति, संस्थाहरुले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्दछ भन्ने लाग्दछ ।
अन्तमा के भन्न चाहानुहुन्छ ?
मलाई सिन्धुपाल्चोकको सामाजीक, राजनैतिक, शैक्षिक वातावरणको बारेमा राम्रो ज्ञान छ । अझैपनि जिल्लाका दुर्गम भेगमा साना वालवालिकाहरु विद्यालयको आधारभूत शिक्षाबाट बञ्चित छन् त्यसैगरी विद्यालय शिक्षा सकेका युवाहरु पनि उच्च शिक्षा हासिल गर्न असमर्थ छन् । यो परिस्थितीमा हामी राजधानीमा शैक्षिक क्षेत्रमा लागि परेको नाताले के कस्ता योगदानहरु दिन सक्छौं हामी आफ्नो तर्फबाट प्रयासरत छौं । त्यसैगरी जिल्लाबाट उपत्यकामा आई अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि कस्मिक इन्टरनेशनल एकेडेमी आर्थिक रुपमा सहयोग दिई सुलभ ढंगबाट गुणात्मक शिक्षा प्रादान गर्न लागि परेका छौं र आगामी दिनमा अझ सहयोग र सद्भावको लागि हातेमालो गर्न तयार छौं ।
अन्तमा, यहाँ सम्पूर्णमा न्यानो अभिवादन टक्राउन चाहान्छु ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।