काठमाडौँ, बर्खाका लागि खाना पकाउने दाउराको जोहोमा लागेका नुवाकोटका एक तामाङ दम्पती अचानक बाढीमा फसेपछि मंगलबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।
दाउरा खोज्न घरबाट केही परको खोलामा पुगेका नुवाकोटको विदर नगरपालिका–९ का ६७ वर्षीय पाल्देन तामाङ र उनकी ६२ वर्षीय पत्नी मंगलीमाया तामाङले करिब १ घण्टा सिसौको रुखमा चढेर ज्यान जोगाएका हुन् । तामाङ दम्पती रसुवातिरबाट आएको बाढीमा फसेका थिए । झिसमिसेमै दाउरा संकलनका लागि हिँडेका पाल्देन र उनकी श्रीमती खोलामा पुगेलगत्तै बाढीमा पसेका थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार पाल्देन दम्पती दैनिक दाउरा काट्न सो क्षेत्रमा पुग्ने गरेका थिए । मंगलबार पनि उनीहरू दाउरा सङ्कलन गर्न खोला किनारमा पुगेको र बाढीमा फसेको प्रहरी नायब उपरीक्षक लामाले बताए । रसुवाबाट बगेर आएको बाढी नुवाकोटको त्रिशुलीमा मिसिएपछि खोलाको बेग उच्च भएको उनले बताए ।
किस्पाङ गाउँपालिका–४ साल्मे स्थायी घर भई हाल विदुर नगरपालिका–९ मिलन चौतारामा बस्दै आएका तामाङ दम्पती नदी छेउतिर रुखका सुकेका हाँगा बटुल्न थालेका थिए । अचानक त्रिशुलीको बेग बढेको अनुभूति भएपछि उनीहरू नजिकै रहेको सिसौको रुखमा चढे र डोकोलाई हाँगामा झुन्ड्याए ।
घटना त्रिशूली बसपार्क नजिक भएकाले स्थानीयले उनीहरूलाई देखे । त्यसपछि होहल्ला भयो । नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूको उद्धार गरियो । एक घण्टा रुखमा बिताएका उनीहरूलाई उद्धारपछि स्वास्थ्य परीक्षणपछि घर पठाइएको प्रहरी नायब उपरीक्षक लामाले बताए । स्वास्थ्य परीक्षणका क्रममा उनीहरूमा कुनै समस्या नदेखिएको बताइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।