दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तित बनेका छन् ।
कात्तिकको पहिलो हप्ता आएको वर्षाका कारण कोल्ड स्टोरमा चुहिएको पानी जमेपछि आलुको बीउ कुहिएको चिस्यान केन्द्रका प्रबन्ध निर्देशक सन्तोष अधिकारीले बताए । जिल्लाका विभिन्न पालिकाका किसानले सहकारी संस्थामार्फत चिस्यान केन्द्रमा पैसा तिरेर आलुको बीउ भण्डारण गरेका थिए ।
“किसानले बीउका लागि भनेर राखेको आलु नै कुहिएपछि उनीहरुमा चिन्ता थपिनु स्वाभाविक हो”, उनले भने, “ठूलो मारमा किसान पर्नुभयो । सरोकारवाला निकाय र बीमा कम्पनीसँग समन्वय गरेर तत्काल राहत दिलाउन पहल गरिरहेका छौँ ।” उनका अनुसार चिस्यान केन्द्रमा विभिन्न सहकारीमार्फत किसानले उत्पादन गरेका १० हजार ७६० बोरा आलुको बीउ भण्डार गरिएको थियो ।
उनले भण्डारण गरिएको सबै आलुका बोरा र चिस्यान केन्द्रको सम्पूर्ण सम्पत्तिको अजोड इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको बताए । बीमा कम्पनीलाई तत्काल राहत उपलब्ध गराएर बीउ आलु खरिदका लागि किसानलाई सहजीकरण गरिदिन आग्रह गरिरहेको उनले जानकारी दिए ।
रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसानले सहकारीमार्फत चिस्यान केन्द्रमा प्रतिबोरा रु ४४५ तिरेर बीउ आलु राख्दै आएका थिए । बीउ आलु नै कुहिएपछि स्थानीय किसान समस्यामा परेका छन् । उनीहरुले चिस्यान केन्द्रमा कुप्री सिन्दुरे, लाकर, लाल गुलाब, सुलभ रातो, डेजिरेलगायत जातका बीउ आलु राखेका थिए ।
कमल गाउँपालिकाका किसान इन्द्र दाहालले आलु रोप्नका लागि माटो तयार गरेर बीउ आलुको बोरा घरमा ल्याएर खोल्दा ९० प्रतिशत कुहिएको फेला पारेको बताए । “घरमा कुहिन्छ भनेर पैसा तिरितिरी चिस्यान केन्द्रमा आलु राखेका थियौँ”, उनले भने, “रोप्न भनेर केन्द्रबाट आलु घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइयो । अब के रोप्ने?”
कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तितकोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तितकोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ कुहिएपछि किसान चिन्तितकमल गाउँपालिकाबाट आइपिएम कृषि सहकारी संस्थामार्फत १८० किसानको ८०० बोरा आलुको बीउ चिस्यान केन्द्रमा राखिएको थियो । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले पालिकालाई आलु पकेट क्षेत्रका रुपमा विकास गरेर किसानलाई आलु खेतीमा प्रोत्साहन गर्न लगानीसमेत गरेको छ ।
आलु रोप्ने समयमा बीउ आलु किन्दा महँगो पर्ने भएकाले किसान आफैँले आवश्यकता अनुसारको बीउ कोल्डस्टोरमा भण्डारण गर्दै आएका थिए । बीउ आलु कुहिएका बारेमा कोल्डस्टोरले जानकारी नगराएको र घरमा ल्याएर हेर्दा सबै कुहिएको पाइएको उनको भनाइ छ । चिन्तित मुद्रामा भेटिएका दाहालले संरक्षणका लागि कोल्डस्टोरमा पैसा तिरेर राखिएको हुँदा अब यसको क्षतिपूर्ति उनीहरुले भर्नुपर्ने माग गरे ।
चिस्यान केन्द्रका प्रबन्ध निर्देशक अधिकारीले कमल गाउँपालिकाको आइपिएम कृषि सहकारी संस्था, गौरादहको महारानीझोडा साना किसान सहकारी, दमक नगरपालिकाको मानसरोवर कृषि सहकारी, मोरङको पथरी कृषि सहकारीमार्फत किसानको बीउ आलु भण्डारण गरिएको जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।