काठमाडौं । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ । झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ ।
भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा आशिष गीत गाउन लगाएको सम्झनामा देउसीभैलो खेल्न थालिएको धार्मिक विश्वास रहँदै आएको छ । पछिल्लो दुई वर्षयता म्याग्दीमा तिहारको बेला खेलिने देउसीभैलोको रौनक विगतका वर्षको जस्तो छैन । गत वर्षको तिहारमा कोरोना भाइरस महामारीले देउसीभैलो खेलिएन । यसपालि कोरोना महामारीको त्रास घटे पनि स्थानीय प्रशासनले रोक लगाएपछि देउसीभैलो खेल्नेको सङ्ख्या कम भएको हो ।
जिल्ला प्रशासन कार्यालयले कात्तिक १४ गते सूचना नै जारी गरेर मेला जात्रा, देउसीभैलो, खेलकुदजस्ता भीडभाडजन्य क्रियाकलाप गर्न रोक लगाएको थियो । बेनी बजारका हरिप्रसाद पौडेलले मेलाजात्रा र खेलकुद कार्यक्रम निर्वाधरूपमा चले पनि तिहारको सांस्कृतिक पक्ष देउसीभैलोलाई मात्र प्रशासनले हस्तक्षेप गरेको गुनासो गरे । “प्रशासनले खुला समाज र सांस्कृतिक उत्सवमाथि नै हस्तक्षेप गरेको छ”, उनले भने ।
बेनी बजारमा एउटा द साइनिङ नृत्य समूहको मात्र देउसीभैलो आयोजना गरियो । विगतमा आठदेखि १० वटा समूहले देउसीभैलो खेल्दथे । यसपालि विगतको जस्तो देउसीभैलोको रौनक नहुँदा तिहार खल्लो बनेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताए । “कोरोना भाइरसको महामारीका कारण गत वर्ष सुनसानजस्तै बनेको तिहारमा यसपालि केही चहलपहल बढे पनि दुई वर्षअघिको जस्तो रौनक छैन”, उनले भने, “अर्कातर्फ तिहारमा खेलिने देउसीभैलोमा पश्चिमा संस्कृतिको प्रभाव बढेको छ ।”
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।