वर्षासँगै खसेको पहिराले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ । शनिबार राति पहिरा जाँदा विसं २०७१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत बनेको भूकम्प प्रतिरोधी भवन क्षतिग्रस्त बनेको हो ।
एउटा कोठा कामै नलाग्ने गरी जगैदेखि भत्किएको र अर्को कोठामा आंशिक क्षति पुगेको विद्यालयका प्रधानाध्यापक मनोजकुमार विकले जानकारी दिए । उक्त भवनमा कक्षा ७ र ८ सञ्चालित थियो । भवन भत्किएपछि तत्कालै कक्षाकोठाको अभाव भएको प्रअ विकको भनाइ छ ।
“वडा कार्यालयमा क्षतिबारे जानकारी गराएका छौँ, विद्यालय पुनःनिर्माणमा पहल हुनेमा आशावादी छौँ”, प्रअ विकले भने । उनले दरबन्दी अभावलगायतका समस्या झेलिरहेको विद्यालयमा प्राकृतिक विपद्को मार थपिएको बताए ।
विसं २०६७ मा स्थापना भएको विद्यालयमा चार शिक्षकको मात्र दरबन्दी छ भने बाँकी शिक्षक स्थानीय स्रोतबाट राखिएका छन् । विद्यालयले तल्लो तहदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ । विद्यालयमा १०७ विद्यार्थी अध्ययनरत छन् ।
कोरोना महामारीका बेला पनि टोलशिक्षालगायतका वैकल्पिक विधिमार्फत बालबालिकाको सिकाइ सहजीकरणलाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।