काठमाडाै, यस वर्षको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गर्ने तयारी थालिएको छ ।
आज बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमणको जोखिमका कारण उनीहरूले अध्ययन गरेको विद्यालयमै होमसेन्टर अवधारणा अनुसार परीक्षा लिने जानकारी दिएका छन् ।
अर्यालले लकडाउनका कारण पर्याप्त मात्रामा यातायात नचलेका कारण विद्यार्थीको सहजताका लागि होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्न लागेको जानकारी दिएका छन् । साउन ३१ गतेदेखि ९ दिनसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ ।
परीक्षा बोर्डका अनुसार कक्षा १२ मा २८ जनाभन्दा कम विद्यार्थी भएका १ हजार, ५० जना भन्दा कम विद्यार्थी भएका २३ सय, १ सयभन्दा कम विद्यार्थी भएका ३४ सय र ५ सयभन्दा बढी विद्यार्थी भएका ८९ विद्यालय छन् । सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने बोर्डको भनाई रहेको छ ।
छलफलमा सांसद बिद्या भट्टराईले लकडाउनका कारण विद्यालयमा गुणस्तरीय शिक्षा भएकोले विद्यार्थीले कसरी परीक्षा दिने भन्दै प्रश्न गरिन् । उनले लकडाउनपछि स्नातक तहको पढाइ नै नभएको उल्लेख गरिन् । सांसद अञ्जना बिसंखेले लकडाउनका कारण विद्यार्थीको परीक्षा खस्कने अवस्थामा रहेको बताएकी छिन् ।
विद्यार्थी अनलाइन कक्षा भन्दै मोबाइलमा गेम खेलेर बस्ने गरेको र लगातार विद्यालय बन्द हुँदा असामाजिक बन्दै गएको उल्लेख गरिन् । गिरिराजमणि पोखरेलले सम्पूर्ण शिक्षक विद्यार्थीलाई खोप नदिएसम्म भौतिक उपस्थितिमा परीक्षा गर्न सहज नहुने बताए ।
छलफलमा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संकट ब्यवस्थापन केन्द्रको निर्देशन अनुसार मापदण्ड पुर्याएर परीक्षा सञ्चालन गर्ने जानकारी गराएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।