काठमाडौं, विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ ।
प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्वपूर्ण काम प्रभावित हुदै आएको छ ।
लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहुदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव मर्कामा पर्दै आएका थिए ।
बढुवा प्रक्रिया अवरुद्ध हुँदा आठ सचिव पद रिक्त
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भने आइतबारदेखि सचिव बढुवा प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । ‘लोकसेवाका पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको छ, अब छिट्टै योग्यताक्रममा रहेका सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । ’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले भने । सचिव बढुवा सिफारिस समितिको अध्यक्ष लोकसेवा आयोगको अध्यक्ष रहेन कानुनी प्रावधान छ ।
आइतबार मात्रै लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सचिव बढुवा सिफारिस समितिको बैठक बसेर बढुवा प्रक्रिया अघि बढाएको हो । अब बढुवा सिफारिस समितिले योग्यता र जेष्ठताका आधारमा सचिव बढुवा प्रक्रियालाई द्रुत गतिमा अघि बढाइने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा प्रशासन तर्फका पाँच सचिव पद रिक्त अवस्थामा छ । यसैगरी, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेको १७ असारमा अवकाश हुँदै छ । उनको पदका लागि समेत बढुवा प्रक्रिया छिटै थालिने भएको छ ।
यस्तै, कृषि तथा पशु विकास मन्त्रलायका पशु विकासतर्फ १ सचिव पद रिक्त छ भने इन्जिनियरिङतर्फ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालयमा सचिव पद रिक्त रहेको छ । सचिव बढुवा प्रक्रियासँगै प्रशासन सेवाका ६ जना सहसचिवहरू अब छिट्टै सचिवमा बढुवा हुने भएका छन् ।
यसरी सचिव बढुवा हुनेमा सहसचिव दामोदर रेग्मी, गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी, खगेन्द्र नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरेलगायत छन् । उनीहरू सबै जना आगामी दुई साताभित्रै सचिवमा बढुवा हुनेगरी बढुवा समितिले कार्य प्रारम्भ गरेको बढुवा समितिको सचिवालयको रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । दशैँ लगत्तै लोकसेवाले ठुलो संख्यामा बिज्ञापन गर्ने आन्तरिक तयारी थालेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।