काठमाडौँ, ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पुर्याउने जनाएको हो । यस्तै गाउँपालिकाले शिक्षकहरूको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताएका छन् ।
गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिने र त्यसका लागि विद्यालयहरूमा इन्टरनेटलगायतका विद्युतीय सामग्री जडान गरिने भएको छ । विद्यार्थीको शारीरिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ ।
पालिकाको बिहीबार सम्पन्न १०औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि रु ४२ करोड २९ लाख ६८ हजार २९० को बजेट प्रस्तुत भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।