बैतडी । कर्तव्य ज्यान मुद्दा लागेर जेलमा रहेका शिक्षकलाई तलब दिँदै आएको खुलेको छ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका जिल्लाको दोगडाकेदारस्थित जशलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई नियम विपरीत तलब खुवाएको अख्तियारले जनाएको छ । अख्तियारले गरेको छानबिनमा कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरि नाथको सहमतिमा ८१ हजार ९ सय तलब खुवाएको पाइएको हो ।
सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपाडी, स्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालिन शिक्षक कपाडीबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, कर्तव्य ज्यान मुद्दामै दोषी ठहर भएका जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारीलाई पनि कारवाही गर्नुको साटो तलब भत्ता दिएको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले ८३ हजार १ सय रुपैयाँ लिएको खुलेको हाे । सरकारी रकमको दुरुपयोग गरेकाले अख्तियारले सो रकम असुलउपर गरी पाउन भन्दै सोमबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेकोले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ ।
दोगडाकेदार गाउँपालिकाको वडानम्बर ३ श्रीकोट घर भएका शिक्षक कपाडी र दोगडाकेदार वडानम्बर ४ का शिक्षक भण्डारी कर्तव्य ज्यान मुद्दामा २०७४ असार १५ मा जेल परेका थिए । दुई वर्ष कैद सजाय र ८२ हजार जरिवानासहित जेल परेका दुवै जना २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेल मुक्त भएका थिए । उनीहरु ६४ प्रतिशत कैद भुक्तान गरेपछि २०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । दुवैजनालाई दोगडाकेदार गाउँपालिकाको वडानम्बर ३ श्रीकोटकै अर्जुनसिंह विष्टको हत्या गरेको आरोप लागेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।