विराटनगर, नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छन् ।
दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका छन् ।
गए बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा चिप्लिएर ब्रस पेटभित्र पसेको मगरले बताए । ‘दाँत माझ्ने क्रममा जिब्रो पनि सफा गर्नु पर्यो भनेर ब्रस अलिक भित्र छिराएर सफा गर्दै थिए ।
हात पनि र्यालले चिप्लो भएको थियो, एक्कासी चिप्लिएर ब्रस भित्र पस्यो,’ मगरले भने, ‘दुख्ने, पोल्ने त खासै भएन तर, त्यत्रो ब्रस नै पेटमा छिर्दा अब के हुन्छ भनेर तनाब भयो । उनले आत्तिँदै घरमा आएर ब्रस पेटभित्र छिरेको सुनाएपछि परिवार र छर छिमेकीले समेत सुरुमा उनको कुरा पत्याएनन् ।
‘ब्रस निले भन्दै धाराबाट आउनु भयो, सुरुमा त जिस्किएर भनेको होला जस्तो लाग्यो, पछि हो रहेछ भन्ने भएपछि सात्तै गयो, त्यत्रो ब्रस कसरी निल्नुभयो भनेर छक्क परे,उनकी श्रीमति पुनमले भनिन् । ब्रस पेटमा पसेपछि मगर आत्तिएर विराटनगर स्थित नोबेल शिक्षण अस्पताल अइपुगेका थिए । अस्पतालमा इन्डोस्कोपी गरेर हेर्दा ब्रस पेटभित्र देखियो । नोबेलका चिकित्सकले इण्डोस्कोपीबाटै ब्रस तान्ने कोसिस गरेका थिए,निस्किएन ।
पेटको सानो भाग चिरेर १५ सेन्टिमिटरको ब्रस पेटबाट निकालिएको नोबेलका शल्यचिकित्सक डा। अमित भट्टराईले जानकारी दिए । नोबेलका चिकित्सक डा।भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले बिहिबार शल्यक्रिया गरेर ब्रस निकालेको छ ।
पेटमा ब्रस छिर्दा पनि उनमा खासै ठूलो स्वास्थ्य समस्या देखिएको थिएन । अब के होला भनेर उनीहरु आत्तिएका थिए । ब्रस पेटबाट निकालिसके पछि अहिले उनको अवस्था सामान्य रहेको छ । स्वास्थ्य अवस्था सामान्य भइसकेकाले अब उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।