काठमाडौ, सरकारले वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड १९ को नयाँ भेरियन्टहरु देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थाहरुलाई भौतिक उपस्थिति नभइ भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ ।
सरकारले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका लागि संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम प्रत्येक जिल्लाभित्र निषेधाज्ञा जारी गर्ने लगायत सम्पूर्ण अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएका छन् ।
जिल्ला अधिकारीले सोही अधिकार प्रयोग गरि पहाडी र हिमाली जिल्लाको हकमा दुई सय र काठमाडौँ उपत्यका र तराईका जिल्लाको हकमा पाँच सयभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेको अवस्थामा जिल्ला भरी वा कुनै भागमा निषेधाज्ञा वा अन्य कुनै कदम चाल्नुपर्ने आवश्यकता भए जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस लिई वैशाख १६ गते बिहान ६ बजे देखि लागु हुने गरि १५ दिनका लागि सार्वजनिक आवागमन, बजार सञ्चालन लगायत नियन्त्रण गर्न आवश्यक निषेधाज्ञा जारी गर्न सक्ने भएका छन् ।
प्रमुख जिल्ला अधिकारीले आवश्यक परेको खण्डमा स्थानीय प्रशासन ऐन २०१९ले दिएको अधिकार पनि प्रयोग गर्न सक्नेछन् । हवाई र स्थलमार्ग हुँदै नेपाल आउने भारतीय नागरिक र चिनिया नागरिकलाई स्वाव संकलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट सहित १० दिनको होटल क्वारेन्टीनमा बस्ने गरी प्रमाण पेश गरेको अवस्थामा प्रवेश अनुमति दिइने छ ।
सरकारले सो अवधिमा अत्यावश्यक सेवा दिनुपर्ने बाहेक अन्य कार्यालयहरुमा आलोपालो गरी कामकाज गर्न गराउन भनेको छ नेपाल–भारत स्थलगत सीमा मार्गहरु नजिकै पायक पर्ने स्थानमा नेपाली सेनाले होल्डिङ सेन्टर बनाउने र त्यसका लागि सरकारले जग्गा र अर्थमन्त्रालयले आवश्यक बजेट निकासा दिने छ ।
कोभिड विरामीको उपचारका लागि सरकारले पर्याप्त अक्सिजनको सिलिण्डर हुने गरि तत्काल आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।