एजेन्सी । अफगानिस्तानकै ठूलो विश्वविद्यालय काबुल विश्वविद्यालयमा बन्दधारीले गोली चलाउँदा कम्तिमा १९ जनाको मृत्यु हुनका साथै २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
अलजजिराका अनुसार, गोली चल्नअघि ती बन्दुकधारी र सुरक्षाकर्मीबीच एक घण्टा झडप परेको थियो । उच्च शिक्षा मन्त्रालयका प्रवक्ता हामिद ओबाइदले सोमबार भएको उक्त आक्रमण एक इरानी पुस्तक मेला आयोजना गर्न सरकारी अधिकारीहरु क्याम्पसमा पुगेपछि सुरु भएको थियो ।
आक्रमण सुरुभए लगत्तै त्यहाँ उपस्थित सयौँ मानिसहरुलाई क्याम्पसको पर्खाल नाघेर भाग्न लगाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘आक्रमण रोकियो, तर १९ जनाको मृत्यु भयो र २२ जना बढी घाइते भए,’ प्रवक्ताले भने ।
आक्रमणमा तीन जना बन्दकधारी सहभागी रहेका थिए, जसमध्ये एकजनाले सुरुमै आफ्नो विस्फोटक सामाग्री पड्काएको थियो, अन्य दुई जनालाई भने सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार, आक्रमण सुरु भएपछि एक विस्फोट भएको थियो भने विद्यार्थीहरु तितरवितर भएका थिए । मृत्यु हुनेमा धेरैजसो विद्यार्थी रहेको काबुल प्रहरीका प्रवक्ता फिर्दोस फरामेर्जले एएफपीसँग बताए ।
आक्रमणका समयमा पुस्तक मेलामा थुप्रै उच्च पदस्थ अधिकारी उपस्थित रहेको अफगानी सञ्चारमाध्यमले जनाएका छन् ।
आइतबार इरानको अर्ध–सरकारी समाचार एजेन्सी आईएसएनएले इरानी राजदूत बहादोर अमिनियन र सांस्कृति सहचारी मोजताबा नोरुजीले पुस्तक मेलाको उद्घाटन गर्ने बताएका थिए । उक्त पुस्तक मेला करिब ४० इरानी प्रकाशकले आयोजना गरेका थिए ।
यस घटना आफूहरु संलग्न नरहेको तालिवानले बताएका छन्, तर विगतका वर्षहरुमा थुप्रै शैक्षिक संस्थाहरुमा यस लडाकु समूहले आक्रमण गरेको छ । गत वर्ष मात्रै काबुल विश्वविद्यालयकै कम्पाउण्ड बाहिर भएको बम विस्फोटमा ८ जनाको मृत्यु भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।