एजेन्सी । फिलिपिन्समा गोनी नामक आँधीले वितण्डा मच्चाएको छ । २२५ किलोमिटर प्रतिघण्टाको गतिले आएको यस आँधीका कारण फिलिपिन्समा भारी वर्षा भइरहेको र द्रुत गतिको हावाले क्षति पुर्याएको बताइएको छ ।
आँधीका कारण अहिलेसम्म चार जनाको ज्यान गएको छ भने केयौँ मानिस विस्तापित बनेका छन् र बाढीबाट सडकहरुमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फिलिपिन्सको मौसम विभागले स्थानीय समयअनुसार आइतबार बिहान ४ः५० बजे क्याटेन्डुनस द्धीपको तटमा आँधी प्रवेश गरेको थियो । त्यसपछि गोनी आँधी लुजोन द्धीपसम्म पुगेको थियो । राजधानी मनीला पनि लुजोपमै स्थित छ ।
क्याटेन्डुनस द्धीपको सानो सहर भिराकलाई लिएर चिन्ता बढेको छ, जहाँ ७० हजार मानिसको बसोबास छ । गोनी आँधी प्रवेशगरेपछि त्यस सहरसँग सम्पर्क विच्छेद भएको बिबीसीले जनाएको छ । यस आँधीबाट करिब ३ करोड मानिस प्रभावित हुनसक्ने अनुमान लगाइएको छ ।
मृतक चारमध्ये एक जना ५ वर्षीय बालक रहेको बताइएको छ । दुई जना व्यक्ति डुबेर बेपत्ता बनेको खबर छ । ‘हावा निक्कै भयावह छ र यसको आवाज निक्कै डरलाग्दो छ । यो अत्यन्तै शक्तिशाली आँधी हो,’ अलबाय प्रान्तकी २१ वर्षीया फ्रान्सिया मेई बोरासले एएफपीसँग भनिन् ।
त्यहाँको मौसम विभागले भारी वर्षा, बाढी तथा भूस्खलनको चेतावनी दिएको छ । स्थानीय प्रशासनले विद्युतको प्रसारणलाई बन्द गरेको छ ।
यस गोनी आँधीलाई फिलिपिन्समा रोली नामक आँधीसँग तुलना गरिएको छ । यो सन् २०१३ मा फिलिपिन्समा आएको आँधी हेयानपछि सबैभन्दा शक्तिशाली आँधी हो । हेयानको आतंकमा परी ६ हजार व्यक्तिको ज्यान गएको थियो ।
फिलिपिन्समा वर्षमा औसत २० पटक आँधी आउने गर्छ । गछ साता मात्रै मोलावे नामक आँधी आएको थियो, जसमा २२ जनाको ज्यान गएको थियो । यसको तुलनामा गोनी आँधी निक्कै बढी शक्तिशाली मानिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।