काठमाडौं, असोज २२ गते इजरायल र गाजाबीच शनिवारदेखि युद्ध जारी छ । उक्त युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भयो । हवाई हमलासँगै आतङ्कवादी हमला निरन्तर जारी छ । जसले गर्दा नेपालीहरू निकै त्रासमा छन् । उनीहरूले निरन्तर रूपमा उद्धारका लागि अनुरोध गर्दै आएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी अजुर्न गिरीका अनुसार अन्य देशका नागरिकहरूको धमाधम उद्धार भयो । तर, युद्धग्रस्त क्षेत्र नजिकै रहेका नेपाली विद्यार्थीको भने शनिवारदेखि आजसम्म उद्धार हुन सकेको छैन । आफूहरूसँगै रहेका थाइल्यान्ड, इजरायल लगायतका अन्य देशका विद्यार्थीको उद्धार गरिएको उनको भनाई छ । ‘हामीले दूतावासमा पटक–पटक फोन गरेर उद्धारका लागि गुहार गर्यौँ । तर,लोकेसन पठाइदिनुहोस् भन्ने मात्र जवाफ आउने गरेको छ ।
उद्धार हुन सकेको छैन’ गिरीले भने,सुदूरपश्चिम विश्वविद्यालयका २० जना विद्यार्थीहरूलाई अर्को क्षेत्रमा लगिँदै छ । उनीहरू बस्दै आएको बंकरबाट उद्धार गरेर आज दिनभरमा आफूहरू भएको ठाउँमा ल्याउन लागिएको उनको भनाई छ । शनिवारदेखि विभिन्न देशमा विद्यार्थीहरू बंकरमा थिए । अन्य देशका विद्यार्थी तथा नागरिकको उद्धार गरियो । हाम्रा साथीहरू भने शनिवारदेखि नै बंकरभित्रै छन्’ उनले भने, हाल कृषि विश्वविद्यालयका ३९ जना विद्यार्थी जीमान फार्ममा छन् । जुन इजिप्टको सिमाना नजिकै पर्छ । इजिप्टको बोर्डरभन्दा ५०० मिटरको दुरीमा मात्रै रहेको उनको भनाई छ ।
उक्त क्षेत्र गाजासँगको सीमा क्षेत्रबाट भने करिब ३० किलोमिटरको दूरीमा हो । उनीहरू बस्ने ठाउँमा भने सुरक्षित मानिएको छ । तर, न बंकर छन्, न त आर्मी नै छन् । बंकर नै नभएको ठाउँ कसरी सुरक्षित हुने भन्दै उनले प्रश्न गरे । १८ जना विद्यार्थीहरू मिफ्ताहिम भन्ने ठाउँमा रहेको सोरासिम नर्सरीमा छन् । उनीहरू पनि शनिवारदेखि नै बंकरभित्र छन् । अहिलेसम्म उद्धारको लागि कोही नआएको उनको भनाई छ ।
८ जना विद्यार्थीहरू नेटिभ भन्ने ठाउँमा छन् । जुन गाजासँगको सीमा क्षेत्रबाट ४५ किलोमिटरको दूरीमा पर्छ । थाइल्यान्ड लगायतका देशका नागरिकहरूको भने त्यहाँबाट उद्धार भइसकेको छ । तर, नेपाली विद्यार्थीको भने त्यहाँबाट उद्धार हुन नसकेको उनको भनाई छ । बंकरभित्र बसेपनि बाहिर गोली चलेको बम पड्किएको आवाज आइरहेको छ । जसले गर्दा कति बेला के हुन्छ भन्नेमा डरै डरमा बस्नु परिरहेको उनको भनाई छ । ‘बंकरभित्रबाट बाहिर गोली चलेको,बम पड्किएको आवाज आइरहेको छ । उद्धार गर्न भनिरहेका छन् । तर, हामीले पनि केही गर्न सकिरहेका छैनौं । आफ्नै साथी गोली लागेको ढलेको छ । फेरि बम पड्किने, गोली चल्ने क्रम जारी छ’ उनले भने ।
आफूहरूसँगै जाम्बिया र थाइल्यान्डका नागरिक समेत काम गर्दै आएको तर, उनीहरूलाई भने सुरक्षित स्थानमा लगिसकिएको बताए । इन्डियाले आफ्ना नागरिकको उद्धार गरेर लगिसक्यो । इजरायलका मानिसहरूलाई हेलिकोप्टरबाट नै उद्धार गरेको छ । हामीले काम गर्ने फार्मको बोस आफैं सुरक्षित क्षेत्रमा गइसकेको छ । अहिले बंकरमा नेपालीहरू मात्र छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।