काठमाडौँ, असोज २२ गते, सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथाशक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको जनाएको छ । शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको विज्ञप्तिमा उल्लेख छ । इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिष्ट्रेसनको तयारी भइरहेको छ ।
हाल तेल अभिभस्थित विमानस्थल सामान्यरुपमा सञ्चालनमा रहेको र हवाईमार्गमार्फत आवतजावत सुचारू भइरहेको जानकारी प्राप्त भएको मन्त्रालयको भनाइ छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकको निर्देशनअनुसार परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको गरिएको छ ।
उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ । द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीको यथाशीघ्र उद्धार गर्न नेपाल सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।