बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

अष्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना

अष्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना

मेगा खबर संवाददाता

२१, भाद्र २०८०
  • 964
    SHARES

  • अष्ट्रेलियासँग मिलेर काम गर्ने चिनियाँ चाहना

    काठमाडौं, भदौ २१ गते,चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अष्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज  आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो ।

    चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार अष्ट्रेलियाका आफ्ना समकक्षी एन्थोनी अल्बानिजसँगको भेटवार्तामा एसिया–प्रशान्त क्षेत्र चीन र अष्ट्रेलियाको साझा स्थल भएको उल्लेख गर्दै आफ्नो देशले अष्ट्रेलियासँग मिलेर काम गर्न चाहेको बताए । उनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति क्यानबेरासँग सहकार्य गर्न बेइजिङ तत्पर रहेको बताए ।

    अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले चीनसँगको चिसिएको सम्बन्ध सुधार्न यस वर्षको अन्त्यमा चीनको भ्रमणमा जाने बताएका छन् । सन् २०१६ यता अस्ट्रेलियाका प्रधानमन्त्रीबाट चीन भ्रमण भएको छैन । आसियान शिखर सम्मेलनसँगै आयोजित पूर्वी एसिया सहयोग सम्बन्धी बैठकमा भाग लिन इन्डोनेसिया आउनुभएका अष्ट्रेलियाका प्रधानमन्त्रीले चिनियाँ प्रधानमन्त्रीसँगको भेटपछि चीनका राष्ट्रपतिले आफूलाई बेइजिङ भ्रमणका निम्ति आमन्त्रण गरेका पत्रकारहरूलाई बताए ।

    प्रधानमन्त्री अल्बानिजको यो भनाइ अष्ट्रेलियाको आयातमा चिनियाँ प्रतिबन्धलगायत राजनीतिक एवम् आर्थिक मुद्दामा वर्षौंदेखि जारी द्वन्द्वपछि आएको हो । उनले निमन्त्रणाका लागि राष्ट्रपति सीप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री लीसँगको वार्ता रचनात्मक भएको बताए । उनले दुई देशबीच सम्बन्ध सुधार गर्न थप संवाद आवश्यक रहेको बताए ।

    चीनमा अष्ट्रेलियाली प्रतिनिधिमण्डल
    फ्रान्सेली समाचार समिति एएफपीका अनुसार अष्ट्रेलियाले आजै चिनियाँ समकक्षीहरूसँग वार्ता गर्न उद्योग, सरकार, प्राज्ञिक, सञ्चारमाध्यम र कला क्षेत्रका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिमण्डल बेइजिङ पठाएको छ । सन् २०२० देखि रोकिएको दोहोरो संवाद यो भ्रमणबाट पुनः सुरु हुने र  दुवै देशबीच सुसम्बन्ध कायम हुने अपेक्षा गरिएको छ ।

    अष्ट्रेलिया विदेशमन्त्री पेनी वोङले गत साताको छलफलले द्विपक्षीय संलग्नता बढाउन र चीनसँगको सम्बन्धलाई स्थिर बनाउन प्रयास गरेको बताएका छन् । अष्ट्रेलियाले विद्युतीय उपकरण उत्पादक चिनियाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको र कोभिड–१९ महामारीको उत्पत्तिबारे स्वतन्त्र छानबिनको माग गरेपछि क्यानबेराप्रति बेइजिङ आक्रोशित भएको समेत थियो ।

    बिहिवार, भाद्र २१ २०८००३:०९:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार